गगनका लागि कुशुम!! नखाउँ दिनभरिको शिकार, खाउँ कान्छा बाउको अनुहार !!!

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।

केन्द्रदेखि नै हालका सतारुढ़ दलबीच गठबन्धन बन्ने करिव निश्चित जस्तै भएपछी यस क्षेत्रमा समेत यसको सिधा प्रभाव पर्ने नै भयो। नेपाली कांग्रेसको तर्फबाट संघीय साम्सदमा महामन्त्री गगन थापा उठ्ने करिव निश्चित भएपछी गठबन्धन दल एकीकृत समाजबादीको तर्फबाट हालका माननीय कुशुम कार्की क्षेत्र नं ४ प्रदेश (ख )को प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने निश्चित भन्दै चर्चा चलेको छ भने गगन थापा समेत यसको लागि तयार भएको बताइएको छ। यसको सिधा प्रभाव यस प्रदेश क्षेत्रका नेपाली कांग्रेसका नेताहरुलाई परेको छ, जो प्रदेशसभा सदस्यको लागि दावेदार भएर पनि तै चुप मै चुपको अबस्थामा छन्। प्रदेश सभामा कुशुम कार्कीलाई उम्मेदवार बनाउदै गर्दा कतिपय कांग्रेसीजनहरु चुनाव जित्ने आंकलन गर्दैछन भने एउटा कांग्रेसी नेतृत्वको ठुलो हिस्सा गगन थापा आगामी चुनावमा रेड जोनमा पुगिसकेको निष्कर्षमा पुगेको छ। बाहिरवाट हेर्दा गगन थापा त्यसैपनि प्रभावशालि अनि त्यसमाथि कुशुम कार्की थपिएको देखिएपनि भित्रि रुपमा धमिराले खाएको रुख जस्तै गठबन्धन कमजोर बनेको उक्त समुहको निष्कर्ष छ। स्थानीय तह निर्वाचनमा एकीकृत समाजबादीले पाएको मत हेर्दा खासै उत्साहजनक देखिदैन भने कुसुम कार्की गठबन्धनमा जोडिदैमा खासै प्रभाव नपर्ने आंकलन समेत गरिएको छ।

गगन – कुशुम सहकार्य हुँदै गर्दा धेरै चुनौतिहरु देखापर्दै छन्। जुन दिन प्रतिदिन झन् झन् जटिल बन्दै गएका छन्।

गठबन्धन स्थानीय निर्वाचनमा नहुने, अब किन हुने ?

गठबन्धन सम्बन्धि चर्चा चल्दै गर्दा नेपाली कांग्रेस र एकीकृत समाजबादी वृतमा सबै भन्दा बढी उठ्ने बिषय यहि नै हो। बूढानिलकण्ठ नगरपालिकामा स्थानीय निर्वाचनको बेला किन गठबन्धन गरिएन ? तर अहिले किन गर्नुपर्ने ? गगन र कुशुमलाइ जिताउन मात्र गठबन्धन गर्नुपर्ने ? आम कांग्रेसी र समाजबादीजनको मन मनको प्रश्न हो यो। अझ समाजबादी समर्थकहरु त भन्छन – हामीले गलत प्रवृतिको बिरोध गर्दै एमालेबाट बिद्रोह गर्यौं। आबश्यक परे गठबन्धनबाट समेत बिद्रोह गर्न तयार छौं ।

समाजबादी यूवाहरुको प्रश्न – फेरी पनि किन कुशुम कार्की ?

नेकपा एमाले बिभाजन भएर एकीकृत समाजबादी बन्दै गर्दा क्षेत्र नम्बर ४ को यूवाहरुको एउटा पंक्ति एकीकृत समाजबादीतिर संगठित भयो। त्यस बेला प्रदेश माननीय कुशुम कार्कीपनि एकीकृत समाजबादीतिरै लागे। पांच बर्ष अघि प्रदेश माननीयमा निर्बाचित भएका उनीबाट समेत धेरैले ठुलो अपेक्षा गरेका थिए। तर अहिले एकीकृत समाजबादिको ठुलो हिस्साले फेरी पनि कुशुम नै किन ? भन्ने प्रश्न खुलेआम उठाउन थालेको छ। खासगरी एकीकृत समाजबादीका यूवा नेता ध्रुबराज न्यौपानेले किन अवसर नपाउने भन्ने चर्चा समेत उक्त पार्टी भित्र चल्न थालेको छ। खासगरी आफ्ना कार्यकर्तासंग एकदमै कम समन्वय गर्ने र आफूलाई आबस्यक परेको बेला मात्रै सम्झने भन्दै उनको भित्र भित्रै आलोचना समेत हुने गर्छ।

कम्युनिष्टफोविया – गगन (कांग्रेस)लाइ किन भोट दिने ?

नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनासंगै निरन्तर कांग्रेस बिरोधि अभियानमा लागेका तत्कालिन एमाले नेता कार्यकर्ताहरु नै अहिले धेरै जसो एकीकृत समाजबादीमा लागेका छन्। त्यति मात्र होइन, अघिल्लो स्थानीय तहको निर्वाचनमा अनाधिकृत रुपमा गगन थापा छिरेको भन्दै उनलाई यस क्षेत्रबाट लखेट्ने युवाहरु धेरै जसो अहिले एकीकृत समाजबादी तिरै छन्। अहिले पनि व्यक्तिगत रुपमा कुरागर्दा उनीहरुको गगन प्रति कुनै सामान्य झुकाव समेत देखिदैन। कांग्रेसलाई भोट हाल्नु भन्दा भोट खाली राख्छु भन्नेहरु पनि प्रशस्तै भेटिन्छन्।

कांग्रेसभित्रको अन्तरकलह

गत स्थानीय तहको निर्वाचनमा टिकट बितरणलाइ लिएर स्थिति सामान्य बनेजस्तो देखिएपनि यो बिषय टुंगिसकेको छैन। एउटा ठुलो कांग्रेसी पंक्ति परेको बेला देखाउने सोचमा छ । जहिले पनि आफू अनुकुल मात्र निर्णय गर्ने , यो क्षेत्रबाट आफू सधै निर्वाचित हुने र अन्य कांग्रेस नेता कार्यकर्ताको राजनीतिक भबिश्यलाइ नजर अन्दाज गर्ने गगन प्रबृत्ति रहेको भन्दै अहिले पनि कुशुम कार्कीलाई प्रदेश सभाको उम्मेदवार बनाउनु पनि उनको स्वार्थी राजनीति मात्र हो भन्ने धेरै कांग्रेसीहरुको बुझाई छ। केहि समय अघि प्रदेश महामन्त्री राजु श्रेष्ठले गरेको एउटा भेला र त्यसमा भएका गतिविधिलाई हेर्दा समेत कांग्रेसभित्रको अन्तरकलह कति जटिल छ भन्ने कुरा प्रष्ट हुन्छ।

तसर्थ : देख्दा सजिलो र आकर्षक देखिएपनि गगन थापाको लागि कुशुम कार्कीको प्रदेशसभा सदस्यको उम्मेदवारी नखाँउ दिनभरिको शिकार, खाँउ भने कान्छा बाउको अनुहार जस्तै बन्ने निश्चित छ।

(लेखक – जनक पोख्रेल)

 

 


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media