आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा-भक्तिपूर्वक मनाइँदै

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा-भक्तिपूर्वक मनाइँदै छ ।

यो पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ । संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान् कृष्णको जन्मदिवस मनाउँदैछन् ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्रीजयन्ती वा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा भगवान् कृष्णको पूजा गरिने र देशभर विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ ।


Published :३ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media