काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरमा पूजा-आराधना गर्नुभएको छ । उहाँले शुक्रवार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गर्नुभयो । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लाग्छ ।
हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरुको भीड हुन्छ । साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रुपमा मनाउने गरिन्छ ।
आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।