काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गरी अध्यक्ष दाहालले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्याएको बताए। उनले भने, ‘बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो।’
देशलाई रूपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उनको भनाइ थियो। ‘गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ। राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो,’ अध्यक्ष दाहालले भने ।