काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको सरकार आएपछि नागरिकता विधेयक सच्याउने बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले वर्तमान सरकारले संसद्बाट बलपूर्वक पारित गरेको विधेयक एमालेको सरकार आएपछि सच्याउने बताएका हुन् ।
राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको भट्टराईको आरोप समेत छ । नागरिकताको सवाल ख्यालख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईले दाबी गरे ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने भट्टराईले बताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको कांग्रेस विस्तारै पतनको बाटोमा जाने उनले दाबी गरे ।
वर्तमान गठबन्धनको सरकार विचार नमिल्नेहरूको समूह भएको भन्दै भट्टराईले विचार र सिद्धान्त नमिल्नेको गठबन्धन सम्भव नहुने जिकिर गरेका छन् ।