काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।
१५ बुँदे सन्देशसहित राष्ट्रपतिबाट फिर्ता भएको विधेयक भदौ २ मा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो ।
राष्ट्रिय सभाले विधेयक पारित गरेको सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरेर फेरि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने छन् ।
२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीबाट संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता भएको थियो ।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक संघीय संसदको दुबै सदनबाट हुवहु पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नभएको कानुनविदुहरुले बताए पनि अब के हुन्छ भन्ने चासो चाहिँ सर्वत्र रहेको देखिन्छ ।
संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा (जस्ताकोे तस्तै) वा संशोधन सहित पारित हुन सक्छ ।
‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा (४) मा उल्लेख छ ।