
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कर्मचारी संयन्त्रप्रति आक्रोशित भएका छन् । उनले देशको दुर्गति हुनुमा कर्मचारी संयन्त्र जिम्मेवार रहेको बताए ।
निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी छ । तैपनि काम भएको छैन । स्थायी सरकारले काम गर्दैन त के गर्ने ? कसरी देश अघि बढ्न सक्छ ?’
एउटा बाटो बनाउन समेत २५ वर्ष लाग्ने गरेको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘डाक्टर छैन, इन्जिनियर छैन, सीडीओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ ।’
कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला आएको भन्दै उनले सबैले काम गर्नुपर्नेमा जोड दिए ।
‘जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो । उसले गर्दैन त कसरी देश बन्छ ?’ उनले भने, ‘जनताले भोटले पत्याए हो, नत्र त हामी गइहाल्छौं । त्यही भएर तपाईँहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’