विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गरेर सरकारले उद्दण्डता देखाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोमा समेत आपत्ति प्रकट गरेका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताए । उनले भने- ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’
सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको अध्यक्ष ओलीले बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे । तर अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभएको छ नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् ।’ अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए ।