डेंगु रोगको अवस्थाबारे संसद्लाई जानकारी गराउन माग

राष्ट्रपाटी न्युज

२९ भाद्र २०७९

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

डेंगु रोगका कारण नागरिकहरुको मृत्यु हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उनले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा सुवालले डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

‘कोरोनापछि डेंगु रोगले जनता एकदमै पीडित छन् । अस्पतालहरुमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रुपमा फैलिँदै छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो । तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन ।’

सांसद सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग गर्न नसकेको बताए ।


Published :२९ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media