काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आफ्नो बयानको १७४ पृष्ठमध्ये ४५ पेजमा हस्ताक्षर गरेका छन् । महाअभियोग सिफारिस समितिको सचिवालयले उनको बयानको ‘भर्वेटिङ’ उतार्दा १७४ पेज भएको छ ।
चोलेन्द्र शमशेरले आफूले दिएको बयानमा हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने भएकाले उनलाई बिहानैदेखि बोलाइएको छ । तर, उनले बयान पढेर सुनाउन आग्रह गर्दै कतिपय भनाइ सच्याउँदै हस्ताक्षर गरिरहेका छन् । त्यसैले उनको बयान प्रमाणित गर्नलाई नै समय लागिरहेको छ ।
अहिलेसम्म बल्ल ४५ पेजमा हस्ताक्षर भएको छ । अझै १२९ पेज पढ्न बाँकी छ, समितिका एक सदस्यले भने- पढेर सुनाइसकेपछि उहाँले शब्द सच्याउने, भनाइको आसय गलत भएको जस्ता कुरा गरेर सच्याउँदै ढिलाई हुनेगरी प्रमाणित गरिरहनु भएको छ ।
ती सदस्यका अनुसार सचिवालयले राणाले भनेकै भनाइ अक्षरमा उतारे पनि उनले भनाइको आशय त्यसो नभएको भन्दै सच्याइरहेका छन् । समितिले राणाको भनाइका आधारमा प्रतिवेदन भने अन्तिम चरणमा पुर्याइसकेको छ । जवराले बयान प्रमाणित गरे आजै वा भोलि बिहान सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिले तयारी गरेको छ ।