१५औँ महाधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक बस्ने

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ ।

यसअघि गत शुक्रबार र आइतबार पनि केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको पराजयको समीक्षाका साथै पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय समितिले सर्वसम्मत रुपमा सभापति थापाको राजीनामा अस्वीकृत गरेपछि उनी आजको बैठकमा उपस्थित हुने नेताहरुले बताएका छन् ।

शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माले बैठक चलाएका थिए ।


Published :चैत्र १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media