सरकारले कर्मचारी धमाधम सरुवा गरेर निर्वाचनमा धाँधलीको तयारी ग-योः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

८ आश्विन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको बताएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेर धाँधलीको तयारी गरेको आरोप लगाए ।

उनले भने- ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ।’

ओलीले अगाडि भने, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार हो ।’

सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।

शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरु अलपत्र नपर्ने बताए । उनले भने- ‘तपाईहरुलाई अवसर दिएर नै अगाडि बढाइनेछ । तपाईहरुलाई कुनै पछुतो हुने छैन, तपाईहरुलाई गलत काममा प्रयोग गर्ने छैन ।’


Published :८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media