काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसमा अहिले विवाद चुलिएको छ । सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा समानुपातिक उम्मेद्वाको विषयमा विवाद बढेको हो । त्यतिमात्र नभएर कांग्रेसका केही नेताहरूले सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सिट बाँडफाँटको विषयमा समेत असन्तुष्टि जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बताउँदै पार्टीको नेतृत्व गर्ने पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध विदोह्र गर्ने बताए ।
बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसकेका कारण नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए ।
नेता केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्याङ्कन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले गठबन्धनको कारण नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गरे ।
कांग्रेसका अर्का नेता खेमराज केसीले समानुपातिकतर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझै पनि सूची संशोधन गरी समान रुपमा टिकट वितरण गर्न सके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाइको सरकार बनाउन सम्भव रहेको बताए । उनले पार्टीमा नातागोता र आफन्त वादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको बताए । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउन सक्ने चेतावनीसमेत दिए ।
नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको आरोप लगाए । उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे ।
उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए ।
सम्मानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली काँग्रेस २५ सिटमा खुम्चिन सक्ने भन्दै उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए ।
नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढङ्गले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाउँदै यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताए । उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए ।
पार्टीभित्रै निरङ्कुश र सामन्ती व्यवहार भएकाले आफूहरूले विरोध गर्नुपरेको भन्दै उनले संस्थापन पक्षले नेकपा माओवादीलगायतका गठबन्धनका दलहरूसँग मिलेर आफ्नो पार्टी भित्रका नेताहरूलाई किनारा लगाइ राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए ।
त्यस्तै कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभई जनताको जीवन बदल्ने माध्यम भएको बताउँदै उनले अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।
कांग्रेस नेता अजय बाबु सिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएको दाबी गर्दै समानुपातिकतर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए ।