रूस, युक्रेन र बेलारूसका अभियन्तालाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइने

राष्ट्रपाटी न्युज

२१ आश्विन २०७९

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बियालियात्स्कीसहित अन्य दुई संस्थालाई प्रदान गरिने भएको छ ।

नर्वेजियन नोबेल पुरस्कार समितिले शुक्रबार घोषणा गरेअनुसार बियालियात्स्कीसँगै रुसी मानवअिधकार संगठन मेमोरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

पुरस्कार प्राप्त गर्ने संस्था मेमोरियल यो वर्षको सुरुवातमै बन्द भइसकेको छ । उक्त संस्थाले बितेको ३ दशकभन्दा बढी समयदेखि सोभियत कालमा मारिएका, कैद भोगेका र यातना पाएका लाखौं निर्दोष मानिसका पीडालाई स्मृतिमा जीवित राख्न भूमिका खेल्दै आएको छ ।

अर्को पुरस्कृत संस्था फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि केन्द्रले युक्रेनी नागरिकविरुद्ध रुसले गरेको युद्ध अपराधको पहिचान गर्ने र त्यसलाई अभिलेखीकरण गर्ने काम गर्दै आएको छ । केन्द्रले दोषी पक्षलाई उसले गरेको अपराधका लागि जवाफदेही बनाउन अग्रणी भूमिका निभाउँदै आएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

नोबेल पुरस्कार समितिले पुरस्कार बिजेता व्यक्ति तथा संस्थाहरूले शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्व प्रदर्शन गरेकोले पुरस्कार प्रदान गरिएको उल्लेख गरेको छ । सत्ताको आलोचना गर्ने र नागरिकको मौलिक अधिकारको रक्षा गर्न उनीहरूले भूमिका खेलेको समितिको ठहर छ ।

युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल समितिले उनीहरूको प्रशंसा गरेको छ ।


Published :२१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media