सत्ता गठबन्धनको उद्देश्य लुटतन्त्र मच्चाउने मात्र होः सीपी गजुरेल

राष्ट्रपाटी न्युज

अशोज २५, २०७९

बुटवल । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुराना दलका नेताभन्दा पनि बदनाम भएको बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले यस्तो बताएका हुन् ।

उनले भने- ‘प्रचण्ड कुनै बेला नायक थिए तर जनगणतन्त्र र राष्ट्रियताको एजेण्डा छाड्दै गएपछि खलनायकमा रुपान्तरण भए, संसदीय राजनीतिमा पुराना दलका नेता भन्दा पनि प्रचण्ड बद्नाम भए ।’

नेता गजुरेलले माओवादीले गरेको सशस्त्र युद्धसम्म नायक रहेका प्रचण्ड संसदीय राजनीतिमा आएसंगै नायकबाट खलनायकमा रुपान्तरण हुंदै गएको आरोप लगाए ।

माओवादीको मुख्य एजेण्डा जनगणतन्त्र स्थापना गर्नु भएको र त्यसैका लागि संविधानसभा चुनावबाट संविधान बनाउन शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डले आफ्ना एजेण्डाहरु छाड्दै गएको बताए ।

युद्धकालमा भारतविरुद्ध सुरुङ युद्ध गर्ने भनेका प्रचण्ड सरकारमा गएपछि राष्ट्रियताका एजेण्डा छाड्दै गएको गजुरेलले बताए । ‘भर्खरै भारत भ्रमण जानुअघि प्रधानमन्त्री बन्दिन भनेका प्रचण्ड दिल्लीमा आरजु राणासंग वार्ता गरेर फर्केपछि प्रधानमन्त्री बन्ने दौडमा लागेका छन्’, गजुरेलले भने, ‘यसबाट थाहा हुन्छ उहां कहाँबाट परिचालित हुनुहुन्छ ।’

सरकारमा रहेका दलहरुले चुनाव अघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता गजुरेलले बताए । ‘चुनावपछि कुनै दलको वहुमत नआए ठूलो दलले बहुमत पुर्‍याउन गठबन्धन गर्ने स्वभाविक हो’- गजुरेलले भने–‘सत्तामा रहेका दलहरुले पहिल्यै गठबन्धन गरेर चुनावमा जानु सत्तामा पुगेर लुटतन्त्र मच्चाउने उद्देश्य नै हो ।’

गजुरेलले अहिलेको संविधान नै त्रुटिपूर्ण रहेकाले चुनावमा भाग लिएर जनताको पक्षमा काम गर्न नसकिने भएकाले आफ्नो पार्टीसहितका चार दलले चुनाव शान्तिपूर्ण बहिस्कार गर्ने बताए ।


Published :अशोज २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media