काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संसदीय चुनावका लागि पार्टीको घोषणापत्र लेखनका क्रममा ललितपुरको लाँकुरीभञ्ज्याङ पुगेका छन् ।
शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीलगायतका विज्ञ समेत घोषणापत्र मस्यौदा लेखनका लागि लाँकुरीभञ्ज्याङ पुगेका हुन् ।
ओलीले त्यहाँ घोषणापत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरिरहेको उनको सचिवालयले जनाएको छ ।