वाईसिएल इन्चार्जसहित एक सयभन्दा बढी युवा एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

३ कार्तिक २०७९

घोराही । माओवादी केन्द्रको युवा सङ्गठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित एक सयजना युवा एमालेमा प्रवेश गरेका छन् ।

घोराहीमा बुधबार एमाले दाङ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई एमाले महासचिव शङ्कर पोखरेललगायत नेताहरूले स्वागत गरे ।

कार्यक्रममा महासचिव पोखरेलले एमालेले मुलुकमा आर्थिक सामाजिक विकासका माध्यमबाट समाज बदल्न चाहेको भन्दै त्यसका लागि पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए । उनले देशका भविष्य युवाहरू हुन् भन्ने कुरामा पार्टीमा स्पष्ट दृष्टिकोण रहेको बताउँदै युवाहरूको भविष्य एमालेमा रहेको बताए । वर्तमान गठबन्धन १४ महिना सरकारमा रहँदा मुलुकका लागि नोक्सानदायी बनेको चर्चा गर्दै महासचिव पोखरेलले  असुरक्षा र स्वार्थको राजनीतिबाट बनेको गठजोडलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्यले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै निर्वाचनमा जुट्न आग्रह गरे । नवप्रवेशी वाईसिएलका घोराही इन्चार्ज सुवास विकले आफूहरूको एमाले प्रवेश केवल पार्टी प्रवेश मात्र नभएर प्रतिक्रियावादी शक्ति र राष्ट्रवादी शक्तिबिचको लडाइँमा राष्ट्रवादी शक्तिको पक्षमा लड्न एमालेमा प्रवेश गरेको बताए । महासचिव पोखरेलले बुधवार साँझ घोराहीको सौडियारमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

यसैबीच दाङको बंगलाचुली वडा नं. ४ बाट मुलुकको विकास र समृद्धि नेकपा (एमाले)ले मात्र गर्न सक्छ भन्दै माओवादी केन्द्र परित्याग गरी दुर्गशमान सिंह, चुमा घर्ती, गायत्री घर्ती, मधु पुन, पदम घर्ती र नेपाली काँग्रेसका भुवन सिंह पुन पनि एमालेमा गरेका छन् ।

उनीहरूलाई एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज जीवन गौतम लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।


Published :३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media