काठमाडौँ । संयुक्त प्रशिक्षणका नाममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका प्रमुख नेताले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । संयुक्त सम्बोधनका नाममा चुनाव प्रचारमा उनीहरू सक्रिय रहेका छन् ।
शनिबार गठबन्धनका नेताले मधेस प्रदेश राजधानी जनकपुरमा ठूलो संख्यामा कार्यकर्तालाई बन्द हलमा सम्बोधन गर्दैछन् । शुक्रबार रुपन्देही र त्यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा उनीहरूले सम्बोधन गरेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले गठबन्धनलाई जिताउनका लागि अपिल गरेका थिए । निर्वाचन आयोगले उक्त विषयलाई भने रेकी नगरी सत्ता गठबन्धनलाई सहयोग गरेको आरोप लागेको छ ।
अन्य दल र स्वतन्त्र उम्मेदवारलाई कोण सभा गर्न समेत प्रतिबन्ध गरेको आयोगले प्रधानमन्त्री देउवासहितको उपस्थितिमा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदा पनि चासो नदिनुलाई शक्ति केन्द्रको दबदबा रहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त गठबन्धनका चुनाव चिन्हमा खुलेर नै मत मागेका थिए । उनले रुख, हसिया हतौडा, कलम केही नभनी मत माग्दै नेकपा एमालेको आलोचना गरेका थिए । निर्वाचन आचारसंहिताले ठूलो संख्यामा भेला, सभा गर्न प्रतिबन्ध गरेको छ ।
तर, सत्ता गठबन्धनका प्रमुख नेता नै सहभागी भएको कार्यक्रममा खचाखच मानिस देखिएका थिए। यस्तो सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले पनि सम्बोधन गरेका छन्।