भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् ।
बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा अझै पनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए ।
उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात गरी अघि बढ्न सक्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका थिए ।
देउवाले एउटा हात शाख्वाको प्रतिमामा आड लिएर अर्को एक हातले माला लगाइदिएका थिए । उनले एक हातले माला लगाए लगत्तै एक हातले नै शालिकतर्फ फर्किएर नमस्कार गरेको देखेपछि आलोचना हुन थालेको छ ।