झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला धेरै तर्क वितर्क गर्ने बेला नभएको बताएका छन् ।
झापामा आज नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई वटा ध्रुवमा बाँडिएको बताए ।
अध्यक्ष ओलीले भने, ‘एउटा राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्को त्यसको विपरीत आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू, यी दुइटामा बाँडिएको छ र आज नेकपा एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार हो ।’
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जति पखाले पनि जस्ताको तस्तै भएको बताएका छन् । उनले प्रचण्डलाई ल्याएर सफा गर्दा धेरै साबुन र सेम्पो सकिए पनि सफा गर्न नसकिएको बताए । ‘नुहाएर के गर्नु, नुहाएर पुछिसक्यो, कम्फरटेवल सरकार मै बनाउँछु हजुर भनेर जाने, कम्फरटेवल सरकारमा नै जानु पर्ने’, ओलीले भने ।
दशकौँ साथमा लिएर हिँडेका माधव नेपाल, झलनाथ खनाल र मिलाएर लिएर हिँडेको प्रचण्डले देशको पक्षमा कहिल्यै नबोलेको ओलीले बताए । उहाँहरूले जनताको लागि कम्फरटेबल सरकार बनाउने कुरा कहिल्यै नगरेको ओलीले बताए ।
संविधानमा नभएको परमादेशबाट सरकार तोक्ने र त्यस माथि पनि यति घण्टा भित्र फलानोलाई प्रधानमन्त्री बनाऊ भन्ने आदेश गरिएको भन्दै ओलीले आलोचना गरे । दुनियाँमा कतै पनि अदालतले प्रधानमन्त्री बनाऊ भनेर आदेश नदिने उहाँले प्रष्ट पारे ।
एमालेले गरेको काम नेपाली जनताले राम्रोसँग देखेको ओलीले बताए । आफ्नो पालामा सडक, सिँचाइ, पूर्वाधार, आइटी लगायतको क्षेत्रमा धेरै काम सुरु भएका ओलीले स्मरण गराए । एमाले केवल सरकारमा बस्नको लागि मात्र सरकारमा नजाने उनले प्रष्ट पारे । एमाले देशको रक्षा र विकास गर्न सरकामा जाने उनको भनाइ छ ।
यस पटक राप्रपा एमालेसँग दह्रोसँग लागेकोले राप्रपा राष्ट्रिय पार्टी हुने उनले बताए । जसपा राष्ट्रिय पार्टी भएको र कायम रहने उनले दाबी गरे । ‘यस पटकको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ, माधव नेपालले खोलेको छ एउटा पार्टी, त्यसको कन्तबिजोक हुन्छ, राष्ट्रिय पार्टी हुँदैन’, ओलीले भने ।
आउने निर्वाचनमा एमालेको बहुमत आउने उनले बताए । एमालेको एक्लै बहुमत आए पनि राप्रपा र जसपालाई साथमा लिएर सरकार बनाउने उनले बताए । ‘नेकपा एमालेको बहुमत आउँछ, एमालेको बहुमत त आयो आयो’, ओलीले भने ।