उम्मेदवारविरुद्ध फैलाइने मिथ्या सूचना अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने आयोगको जिकिर

राष्ट्रपाटी न्युज

११ कार्तिक २०७९

काठमाडौँ । निर्वाचन आयोगले कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको छ ।

शुक्रबार आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालीग्राम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता हनन् नभएको स्पष्ट पारेका हुन् । यसअघि कात्तिक ८ गते आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुटा फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको थियो । ‘नो नट अगेन’ लगायतका केही फेसबुक पेजबाट नेताहरूलाई लाञ्छना लगाइएको भन्दै त्यस किसिमका गतिविधि नगर्न आयोगले निर्देशन दिएको थियो ।

शुक्रबार जारी आयोगको विज्ञप्तिमा भनिएको छ, ‘संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ ।’


Published :११ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media