काठमाडौं । नेकपा एमालेले चुनावी प्रतिबद्धतामार्फत् पाँच वर्षमा गर्ने कामबारे २० ग्यारेन्टी प्रस्तुत गरेको छ ।
चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै एमालेले पाँच वर्षमा २० ग्यारेन्टी शीर्षकको योजना अघि सारेको हो । जसमा समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने पहिलो नम्बरमा रहेको छ । राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने एमालेको योजना छ ।
‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने भएको छ । एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’अभियान सञ्चालन गर्ने चुनावी प्रतिबद्धता गरेको छ । आवासविहीनलाई सरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । निरोगी नेपाल, सबल नागरिकको नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको छ ।
स्वच्छ पानी, सफा वातावरणको सुनिश्चित गर्ने, सबैलाई विजुली बत्ती, विद्युतबाटै देशको उन्नति गर्ने, खेतवारीमा पानी दोब्बर हुन्छ उब्जीको मान्यतामा अघि बढाउने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख छ । सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चित गर्ने, सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने, सबै नागरिकमा वित्तिय पहुँच स्थापित गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने, स्वस्थ महिनावारी, सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने ग्यारेन्टी एमालेले गरेको छ ।