चौतर्फी दबाबपछि राजीनामा दिने तयारीमा मन्त्री गुप्ता

राष्ट्रपाटी न्युज

असार २९, २०८२

काठमाडौँ । घुस मागेको अडिओ सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता राजीनामा दिने तयारीमा पुगेका छन्।

त्यसका लागि उनी अहिले परामर्श गरिरहेका छन्। अडिओ टेप सार्वजनिक भए लगत्तै उनले राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षीय नेपाली कांग्रेसकै सांसदले भनेका छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलले समेत उनको राजीनामा माग गरेको छ।

सबैतिरबाट आएको दबाब थेग्न नसकेपछि मन्त्री गुप्ता राजीनामा दिने मुडमा पुगेका पुगेका हुन्। ‘यतिका विषय उठिसकेपछि म छलफलमै छु,’ उनले नेपालखबरसँग भने। यद्यपि, उनी अहिले प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन्।
ओली उपत्यकाबाहिर छन्। उनी अहिले काठमाडौँ फर्कदैँछन्।

‘हामीले त पार्टीको निर्देशन मान्ने हो। पार्टीको निर्देशनमा चल्ने हो। पार्टीले के भन्छ त्यही गर्ने हो। हाम्रो स्प्रिट त त्यो न हो,’ गुप्ताले थपे, ‘पार्टीको निर्देशनको कुरा हो नि। पार्टीमा छलफल गर्नुपर्छ, कसैले राजीनामा माग्दैमा दिँदै हिड्ने हो भने थुप्रै जनामाथि कुरा उठेको छ नि। प्रमाणित त भएको छैन।

२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। अडिओ टेप सार्वजनिक भएपछि प्रधानमन्त्री समेत उनीसँग असन्तुष्ट रहेको निकटहरू बताउँछन्। ‘प्रधानमन्त्रीसँग मेरो भेटै भएको छैन र कुरा पनि भएको छैन,म पाँच-सात दिन जिल्लामै थिएँ, अस्ति आएँ, बालुवाटार जान पनि पाएको छैन। पीएम २-३ दिनदेखि बाहिर हुनुहुन्छ। अहिलेसम्म,’ मन्त्री गुप्ताले भने।


Published :असार २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media