बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटनः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत दिन आग्रह गरेका छन् ।

चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले देश बनाउने भिजन एमालेसँग मात्रै रहेकाले यो पार्टीलाई बहुमत दिन आग्रह गरेका हुन् ।

ओलीले भने, ‘एमालेसँग देश बनाउने भिजन छ । एमालेसँग बहुमत आउँदा देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्थिरता कायम हुन्छ । जनताले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा एमाले सरकारले प्रदान गर्छ ।’

ओलीले देशलाई विकासको गतिमा तीव्रता दिन नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताए । उनले घोषणापत्र देश विकासको मार्गचित्र भएको बताए ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको बताएका छन् । उनले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।

‘जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए’ ओलीले भनेका छन्, ‘पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनका घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरियो ।’

ओलीले आफू प्रधानमन्त्री भएपछि राजनीतिक स्थायीत्व हासिल भएको, प्रणालीगत स्थिरता काम भएको र राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएको बताएका छन् । तर सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएपछि त्यसलाई असफल बनाउने प्रयास भएको उनले उल्लेख गरेका छन् ।

‘तत्कालिन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरु यसका लागि प्रयोग भए, उनीहरुका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहंकार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो’ ओलीले भनेका छन् ।

सत्तारुढ गठबन्धनले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमन भनेका छन् । जनादेशप्राप्त आफ्नो सरकार हटाएर सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्नु प्रतिगमन भएको ओलीको जिकिर छ ।

‘गठबन्धन सरकारको १६ महिनाले अकाट्य ढंगबाट पुष्टि गरेका छन् –जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापित गर्नुको उद्देश्य सरकार परिवर्तनमात्रै थिएन, यो त स्वार्थपरक देशी विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो, अर्थात् स्पष्टतः प्रतिगमन थियो’ ओलीले भनेका छन् ।

उनले आउँदो निर्वाचनलाई षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनर्स्थापित गर्ने मौका भनेका छन् ।


Published :१५ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media