भैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाएका छन् ।
थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताए । उनले भने ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ उनले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताए ।
पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो ? भन्दै उनले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भटराईले अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताए । उनले ओली प्रधानमन्त्री बनेमात्रै मुलुकले निकासा पाउने जिकिर गरे ।
उनले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताए । उनले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दावी गरे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको उनले गरे ।