देश र जनताको हितमा काम एमालेबाहेक कसैले गर्दैनः ईश्वर पोखरेल

राष्ट्रपाटी न्युज

१७ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमालेमात्रै भएको बताएका छन् ।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरे ।

कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै पोखरेलले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको बताए ।

नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको बताए । नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए ।

नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सतर्कता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्न सक्ने बताए । उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पुर्‍याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने बताए ।


Published :१७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media