काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुमबासीका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने दाबी गरे ।
उनले भने- ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ।’
आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’
समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए ।
मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो हुने भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसलाई सरल र छिटोछरितो बनाउन आफूले पहल गर्ने आश्वासन दिए ।