सञ्चारमन्त्री कार्कीले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी

राष्ट्रपाटी न्युज

२७ कार्तिक २०७९

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीबिरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीबिरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारीसाधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिएको जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिता उल्लंघन गरेको उजुरी परेको बताए । उनले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।


Published :२७ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media