“राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माण एमालेको प्राथमिकता विषय”

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७९

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले एमालेले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताउँदै आगामी चुनावमा मत दिएर अत्यधिक बहुमतले जिताउन आग्रह गरेका छन् ।

रुकुम–दाङ सम्पर्क समूहले मङ्गलवार घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताए ।

२०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सय रुपियाँबाट सुरु गरेको वृद्ध भत्ता अहिले चार हजार पुर्‍याएका छौँ, एकल महिला, अपाङ्गता भएका हुँदै सुत्केरी भत्तासम्म उपलब्ध गराएको बताउँदै उनले अब एमालेको सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउने बताए ।  उनले महिनावारी समस्याका कारण हुने पाठेघरको समस्या रोक्न हरेक वर्ष एकमुष्ट एक हजार पाँच सय रुपियाँ खातामै राखिदिने बताए ।

महासचिव पोख्रेलले गरिब परिवारका लागि बिजुली र खानेपानी पनि निःशुल्क गरिने बताए । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै महासचिव पोख्रेलले भने– “गरिब परिवारको घरमा पनि बिजुली पुर्‍याउँछौ अनि हिउँदमा ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउँछौँ । त्यस्तै हरेक घरमा धारा पुर्‍याउँछौ र पानी पनि निःशुल्क उपलब्ध गराउँछौँ ।”

उनले एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको जानकारी दिए । जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवश्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै महासचिव पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्त्वका साथ अघि सारेको उल्लेख गरे ।

प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भने– “राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकताका विषय हुन् ।”


Published :३० कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media