अछाम । प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र नभएको बताएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहनेछ ।”
प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गरे ।
लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उनले स्पष्ट पारे ।
उनले अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताए ।
त्यस्तै उनले अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने पनि बताए ।
प्रधानमन्त्री देउवाले बन्द अवस्थामा रहेको अछामको कैलाशखोला जलविद्युत् आयोजना यसअघि आफ्नै कार्यकालमा बनेको र त्यसपछिको सरकारले उक्त योजनालाई बेवास्ता गरेकाले विद्युत् बन्द हुन पुगेको भन्दै अब बन्ने सरकारले उक्त आयोजनालाई अगाडि बढाई अछामलाई उज्यालो बनाउने बताए ।