काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगायत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाइने, प्रचारप्रसार गर्न नपाइने बताए ।
मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचारप्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलबाट मतदान गर्न सक्ने थपलियाले जानकारी दिए । उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचनविरोधी कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार ४१२ र दुई हजार १९९ समानुपातिक गरी कुल पाँच हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ तीन हजार २२४ र समानुपातिकतर्फ तीन हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।
यस्तै, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै परिणाम मंसिर २२ गतेअगावै आउने दाबी गरेको छ । पत्रकार सम्मेलनमा आयुक्त थपलियाले मंसिर २२ गतेभित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक मतसमेत गणना गरी विजयी हुनेहरूको नामावली २२ गतेअघि नै तयार गरिनेछ ।