मतदानका लागि गाउँ फर्किनेहरुको एकै स्वरः अबको नेतृत्व सक्षम युवाहरुलाई दिनुपर्छ

केपी बस्नेत/विचार

यतिबेला प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तिब्र बनेको छ ।

भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तिब्र बनेको हो ।

मंसिर ४ गते आईतवार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए ।

उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ । यात्रामा भेटिएका उनीहरुले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए । भोट दिन गाउँ फर्कने हतारोमा देखिएका उनीहरुले अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनीहरुले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताए ।

मत दिन गाउँ फर्कने हतारो गर्दै गरेका रामेछापका यात्रु रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताउँछन् । उनी पनि अहिलेको राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै देखिन्छन् । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुको भन्दा फरक छैन । उनी पनि युवाहरुले मात्रै अब देश विकास गर्न सक्ने विचार राख्छन् । नेतृत्व गर्ने ठाउँमा युवाहरु गए मात्रै देशले विकास पाउन सक्ने उनको भनाइ थियो ।

शनिवार बिहान कोटेश्वर क्षेत्रमा उल्लेख्य मात्रामा मानिसहरु मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए । केही राजनीतिक दलका नेताहरुले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे ।

अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउन सक्ने नेतृत्वको खोजी गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् ।


Published :३ मंसिर २०७९


Copyright : © 2020-2022 All right reserved

Developed by: Abritti Media