मतदान गर्न मतदाता परिचयपत्र नभए यस्ता प्रमाणपत्र बोकेर जान आयोगको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य लैजान आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जानसक्ने बताएका हुन् । उनले मतदाताहरुले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरु बोक्न नहुने बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निषेधित वस्तुहरु मतदान केन्द्रमा लिएर गए सामग्रीहरु जफत गर्ने चेतावनी दिए । उनले मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र मतदान अधिकृतहरुले मतदाताका हरेक गतिविधिहरुको निगरानी गरिरहेको हुनाले आयोगको आँखा छलेर अनावश्यक गतिविधि नगर्न सचेत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अरुको नाममा मत नहाल्न, दोहो-याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्न पनि आग्रह गरे । उनले मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, कृयापुत्री, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहयोग गर्न र सबैभन्दा पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्कवितर्क नगर्न पनि सचेत गराए । उनले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि आफ्नो सिधा बासस्थानतर्फ लाग्न पनि अनुरोध गरेका छन् ।


Published :३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media