७० वर्षदेखि ९९ वर्षसम्मका उम्मेदवारहरु चुनावी मैदानमा 

काठमाडौं ।  प्रतिनिधिसभातर्फ ३५ जनाभन्दा बढी उम्मेदवारहरूको उमेर ७० नाघेको छ । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा ७० वर्षदेखि ९९ वर्ष उमेर समूहका ३५ जना रहेका छन् । तीमध्ये अधिकांश शीर्षस्थ नेताहरू नै छन् ।

कूल २ हजार ४१२ उम्मेदवारमध्ये ३५ जना देशकै ठूलो पार्टी एमालेदेखि स्वतन्त्रसम्म रहेका छन् । सबैभन्दा धेरै उमेरका उम्मेदवार रहेका छन् गोरखा २ का टीकादत्त पोखरेल । उनको उमेर ९९ वर्ष रहेको छ । उनले कांग्रेस बी.पी.बाट उम्मेदवारी दिएका हुन् । सो क्षेत्रमा प्रचण्डसहित १२ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ७७ वर्षको उमेरमा डडेलधुराबाट उम्मेदवारी दिएका छन् । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरमा झापा ५ बाट उम्मेदवारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल ७२ वर्षको उमेरमा इलाम १ बाट उम्मेदवारी दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ १ बाट ७८ वर्षको उमेरमा उम्मेदवार बनेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ७२ वर्षको उमेरमा झापा ३ बाट उम्मेदवारी दिएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले ७२ वर्षको उमेरमा उम्मेदवारी दिएका छन् । तनहुँ १ मा गोविन्दराज जोशीले स्वतन्त्र तर्फबाट ७३ वर्षको उमेरमा उम्मेदवारी दिएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ८० वर्षको उमेरमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार लोसपाकै नेता सर्वेन्द्रनाथ शुक्लले ७२ वर्षको उमेरमा रुपन्देही ४ बाट उम्मेदवारी दिएका छन् । राप्रपा नेता दीपक बोहोराले रुपन्देही ४ बाट ७१ वर्षको उमेरमा उम्मेदवारी दिएका छन् ।


Published :४ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media