जुम्ला । जुम्लाको एक प्रतिनिधिसभा सहित दुईवटा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार पराजय भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञान बहादुर शाही) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
तीन दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम (कुवँर) लाई १० हजार ८६० मत अन्तरले पराजित गदै शाही विजयी भएका छन् । शाहीले २२ हजार ८१९ मत ल्याउदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेकपा (माओवादी) केन्द्र पार्टीका उम्मेदवार गौतमले ११ हजार ९५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख गौतमले बताए ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाईले सात हजार आठ सय २६ मतले निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फका एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा शहरी विकास बाहलवाला मन्त्री पदम बहादुर रोकायाले छ हजार सात १५ मत प्राप्त गरे ।
त्यस्तै निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले एक हजार आठ सय ९९ मत अन्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली काङ्ग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सात हजार सात ५५ मत प्राप्त गरे ।
निर्वाचित प्रदेशसभा सदस्य शाही विस २०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसंग झन्डै दोब्बर मत अन्तरले पराजित भएका थिए । काङ्ग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।