कतार । दशजनामा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २-० गोलले पराजित भएको छ। गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित भयो ।
इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक-एक गोल गरे ।
सन् २००६ यता विश्वकपका सुरुआती दुई खेलमा लगातार पराजित नभएको इरान नकआउट चरण नजिक पुगेको छ ।
पहिलो हाफमा गोलका लागि दुवै टिमले अवसरको सिर्जना गरेका थिए। तर, सटिक फिनिसिङको अभावमा गोल गर्न दुवै टिम असफल रहे। इरानका घोलिजादेहले १६औं मिनेटमा गरेको गोल भीएआरले रद्द गरिदिएको थियो । वेल्सका कप्तान ग्यारेथ बेलले ३०औं मिनेटमा भलीमार्फत गरेको प्रहार सोझै इरानी गोलकिपरको हातमा परेको थियो ।
वेल्सका ह्यारी विल्सनले ५४औं मिनेटमा प्रहार गरेको फ्रि-किक इरानी गोलकिपर होसेइनी होसेनको हातमा पुगेको थियो ।
समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ ।
यसअघि १९५८ मा एकपटक मात्र विश्वकप खेलेको वेल्स सनसनी मच्चाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
त्यसबेला समूह ‘तीन’मा परेको वेल्सले तीन बराबरी र एक जितसहित क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । अन्तिम आठमा ब्राजिलसँग १-० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिएको वेल्स झण्डै साढे ६ दशकपछि मात्रै छनोट भएको हो ।