काठमाडौं । सत्ता गठबन्धनको बैठकले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ । बालुवाटारमा सोमबार बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो । गठबन्धन दलहरूले आजै संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए । ‘यही गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । गठबन्धन दलहरूले केहीबेरमै संयुक्त विज्ञप्ति जारी गर्दैछ,’ सञ्चारमाध्यमसँग उनले भने।
माओवादी केन्द्रको पदाधिकारी बैठकले अन्य विकल्पमा पनि छलफल गर्ने निर्णय गरेपछि कांग्रेस सशंकित बनेको नेताहरुको भनाइ छ । पहिलो दल बनेको कांग्रेसले सत्ता समीकरणकै विषयमा छलफल गर्न आज गठबन्धन दलहरूको बैठक डाकेको हो ।
बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दााहल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल सहभागी छन् भने जनमोर्चाबाट दुर्गा पौडेल सहभागी थिए ।