काठमाडौं । माओवादी केन्द्रले समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।
पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।
माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको हो ।
निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको भनाइ छ ।