
काठमाडौं। श्रावण महिनाको अन्तिम साता देखि बन्द भएको कपन जोरधारा खानेपानी संरक्षण संस्था सम्बन्धि छलफल गर्न भोलि शनिवार बिशेष उपभोक्ता भेला आयोजना हुने भएको छ। बूढानिलकण्ठ नगरपालिकाको आयोजनामा भोलि पौष २ गते बूढानिलकन्ठ-१२ स्थित इभरशाइन पार्टी प्यालेशमा बिहान ७ बजे भेला आयोजना हुन लागेको हो।
बूढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का हजारौ घरधुरीहरुले खानेपानीको सुविधा लिइरहेको यो योजना बन्द हुँदा सेवाग्राहीहरुले ठुलो समस्या बेहोर्नु परेको छ।
२०५९ साल देखि कपन क्षेत्रमा तिन वडा वडाका विभिन्न स्थानमा पाइपलाइन विस्तार गर्दै खानेपानीको सेवा प्रदान गर्दै आइरहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको सेवा बन्द भएपछि एकथरी ग्राहकले माहांकाल खानेपानी आयोजनाको पाइप लाइन जोडेका छन् भने धेरै जसो ग्राहक भने किनेर पानि पिउन बाध्य छन्।
यसै बीच संस्थाका अध्यक्ष ठाकुर खकुरेलले संस्था डिप बोरिङ्ग गरेर अहिले तत्काल खानेपानी वितरणको प्रक्रिया शुरु गर्ने र महांकालबाट पानी ल्याएर समस्याको समाधान गर्ने दुवै काम एक साथ अगाडी लान तयार रहेको बताएका छन्। आफूहरु तत्काल बोरिङ्ग खन्ने काम शुरु गर्ने पक्षमा रहेको भन्दै भेलाले सकारात्मक निर्णय गर्ने कुरामा ढुक्क रहेको र स्थानीय सरकारको सकारात्मक निर्णयको पर्खाइमा रहेको बताएका छन्।
बोरिङ खन्न टेन्डर लगायतका प्रक्रिया सुरु भैसकेको र केहि समयमा नै पानी उत्पादन र वितरण सुरु गर्न तयार रहेको भन्दै उनले पटक पटक जनप्रतिनिधि र संस्थाका विचमा छलफल भएको र नयाँ डिप बोरिङ खन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।