नयाँ सरकार गठन गर्ने समयसीमा आज, गठबन्धनमा प्रधानमन्त्रीको रस्साकस्सी कायमै

समाचार टिप्पणी

काठमाडौं । सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछि नहट्दा बैठक निष्कर्षबिहीन भएको हो ।

यद्यपि गठबन्धनकै सरकार बनाउने विषयमा भने तीनवटै दल सहमत देखिएका छन् । प्रधानमन्त्रीमा दुई/दुई/एक वर्षको आलोपालो गर्ने मोटामोटी सहमति पनि जुटेको छ ।

बालुबाटार स्रोतका अनुसार कांग्रेस र माओवादीले दुई-दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको हो । तथापि सुरुमा प्रधानमन्त्री को हुने भन्ने विषय भने जटिल बन्दै गएको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने अडान राखेका छन् । कांग्रेसले डेढ वर्ष सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने अडान उनको छ ।

‘अहिलेसम्म तपाईं हुनुभयो । अब म प्रधानमन्त्री बन्दा संगति पनि मिल्छ । निरन्तर तपाईँ नै प्रधानमन्त्री बन्ने कुरा गठबन्धनको भावनासँग मेल खाँदैन । कांग्रेसले कम सिट ल्याउँदा पनि तपाईँलाई हामीले सहयोग गरेकै हो’ प्रचण्डले देउवालाई भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डको प्रस्तावलाई अस्वीकार भने गरेका छैनन् । तथापि पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुनुपर्ने कुरामा देउवा टसमस देखिएका छैनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोजेर गठबन्धनको रक्षा गर्न सुझाव दिएका थिए ।

आइतबार बस्ने बैठकले पहिला प्रधानमन्त्री को बन्ने ? भन्ने विषय टुंगो लगाउने र त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट हुने बैठकमा सहभागी ती नेताले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ । राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिनुभएको थियो ।

सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूले दाबी पेश गर्न सकेका छैनन् । बुहमतनिकट रहेको सत्ता गठबन्धन दलहरूबीच पदीय भागबण्डामा सहमति हुन नसक्दा समय सकिन लाग्दासमेत दाबी पेश हुन नसकेको हो ।


Published :१० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media