राष्ट्रपतिसँग थप समय माग्ने तयारी, नदिए देउवाकै नेतृत्वमा सरकार बन्ने सम्भावना

काठमाडौं । नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु लगातार छलफलमा जुटे पनि सहमतिको जुट्न सकेको अवस्था छैन ।

नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्त्वमा अडान राखेको छ भने कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पाउनुपर्ने अडान राखेको छ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईवटा विकल्प अघि सारेका छन् ।

पहिलो विकल्पमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दुई, दुई र एक वर्ष गरी सरकारको नेतृत्व गर्ने, राष्ट्रपति कांग्रेसको हुने ।

यो विकल्पमा सबै दल तयार भए पनि कसले पहिलो सरकारको नेतृत्व गर्ने भन्ने विवाद कायमै रहेको छ ।

त्यस्तो अवस्थामा विवाद कायमै रहेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने र सभामुख माओवादीलाई दिने अनि सरकारको नेतृत्व आफूले पाँच वर्षसम्म गर्ने । यद्यपि यो प्रस्तावमा पनि सहमति जुटेको छैन ।

राष्ट्रपतिले दिएको समयसीमा आज बेलुका सकिने भएकाले त्यसबेलासम्म पनि सहमति कायम हुन नसके राष्ट्रपतिसँग समय थप गर्न आग्रह गर्ने तयारी रहेको छ । तर देउवाले समय थप गर्न आग्रह नगरी आफ्नै नेतृत्त्वमा सरकार गठन गर्ने रणनीति बनाएको आरोप माओवादीले लगाएको छ ।

बेलुकासम्म सरकार गठन हुन नसके संविधानको धारा ७६(३) अनुसार सरकार गठनको लागि बाटो खुला हुनेछ ।

संविधानको धारा ७६ मा सरकार गठनको व्यवस्था गरिएको छ ।

उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।

तर अहिलेको निर्वाचनमा कुनै पनि दलको बहुमत नभएकाले राष्ट्रपतिले ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । ७६(२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।

अहिले दलहरुको रस्साकस्सी यसैका लागि भइरहेको छ ।

यो व्यवस्थाअनुसार पनि सरकार गठन हुन नसके राष्ट्रपतिले थप समय दिने नजिर रहेको छ । तर समय थप नगरे संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठनका लागि बाटो खुला हुनेछ । अर्थात् अहिले संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेको छ । कांग्रेसले दलको नेता पनि देउवालाई नै चयन गरिसकेको छ ।


Published :१० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media