प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाटै

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् ।

प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताए ।

आफूलाई पहिलोपटक जहाँबाट भ्रमणको निम्तो आउँछ, आफू त्यहीँ नै जाने प्रचण्डले बताए ।

दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई तोड्दै उनी भारत गएका थिए ।

दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए ।

प्रधानमन्त्री भएपछि पहिलो बधाई नेपालस्थित भारतीय राजदूतबाट आएको भन्दै उनले भने, ‘मलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ जान्छु। हिजो मेरो भारतको विदेश सचिवसँग पनि थोरै कुराकानी भएको थियो। सायद मेरो पहिलो भ्रमण भारत नै हुने सम्भावना देख्छु।’

उनले भारतसँग सम्बन्ध विशिष्ट रहेको भन्दै दुई देश मिलेर इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा मजबुत बनाउनुपर्ने बताए ।

 


Published :१३ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media