गठबन्धन भत्किनुमा देउवाकै हठः शेखर समूह

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको बुधबार बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन् ।

इतर समूह आगामी केन्द्रीय कार्यसमिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने तयारी छ ।

नयाँ सत्तासमीकरण भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ। संसदमा ठूलो दल बनेको कांग्रेस पार्टी सभापति देउवाकै हठका कारण प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसभित्र विवाद सिर्जना भएको छ ।

पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ। एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।


Published :१३ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media