प्रदेश १ सरकारको दाबी पेश गर्न आह्वान, समय एक साता

विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।

प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठन हुने छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण उपधारा (१) बमोजिम सरकार गठन हुन सक्ने अवस्था छैन ।

‘मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश १ को प्रदेशसभाको सदस्यलाई दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको पत्रमा भनिएको छ।

पत्रमा पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेशको पहिलो दल एमालेसँग ४० सांसद (प्रदेशसभा सदस्य) छन् । तेस्रो दल माओवादीसँग १३ सांसद छन् । त्यसबाहेक नेपाली कांग्रेससँग २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन बहुमत पु¥याउनका लागि ४७ संसद आवश्यक पर्छ ।

पछिल्लो राजनीतिक समीकरण एवं गठबन्धन अनुसार प्रदेशमा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन। यद्यपि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन्। तर, प्रदेशको सबैभन्दा ठूलो दल एमालेले सरकारको नेतृत्व गर्न पाउने सम्भावना रहेको छ ।


Published :१७ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media

preload imagepreload image