पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ८ घुमाउनेटारमा मंगलबार राति एक घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा २३ बर्षीया आसाङसिंङ थेवे र २२ बर्षीया ममता गुरुङ रहेका छन् ।
स्थानीय मेघबहादुर गुरुङको घरमा राति १:३५ बजेको समयमा अचानक आगलागी हुँदा उनकी बुहारी आसाङसिंङ र छोरी ममताको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिए ।
आगलागी परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । अन्य तीन जना भने भाग्न सफल भएका छन् । आगलागीबाट घर पूर्ण रुपमा क्षति हुँदा घरमा भएको अन्नपात, गरगहना, किराना पसल गरेर अनुमानित ५० लाख जतिको क्षति भएको हुन सक्ने प्रहरी नायव उपरिक्षक खतिवडाले जानकारी दिए । अन्य कारण नदेखिएको हुँदा विद्यत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँचजनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरिक्षक हरि खतिवडाको कमाण्डमा थप २५ जना प्रहरी परिचालन भएको थियो ।
स्थानीय, दुई वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अग्नि पीडितहरूलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ ।