रौतहटमा कठ्याग्रिँदो चिसो, सबै विद्यालय बन्द

रौतहट । चिसो बढेपछि रौतहटका विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। चिसो धेरै भएपछि केही विद्यालय बन्द गरिएको छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि गौर, कटहरिया, गरुडा, फतुवा विजयपुर, राजपुर, इशनाथ, गढीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।

गौर नगरपालिकाले बुधवारदेखि शुक्रबार नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यले मंगलबार नगरपालिकाको प्रमुख स्तरीय बैठकबाट  शुक्रबार अर्थात पुस २० देखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

गौर नगरपालिकाको शिक्षा संयोजक नागेन्द्रप्रसाद मण्डलले हस्ताक्षर गरेको बिदाको सूचनामा बर्खे बिदामा कट्टा हुने गरी जाडोको बिदा दिन विद्यालयलाई पत्राचार गरिएको छ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिन बिद्यालय बन्द गरेको छ।  पुस २२ सम्म विद्यालय बन्द गर्न पत्राचार गरिएको छ। फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन नगरपालिकाले पत्रचार गरेको हो ।

गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवका अनुसार बाक्लो हुस्सु र शितलहरबाट विद्यालय आउने विद्यार्थीको संख्यामा कमी आएपछि नगरका सामुदायिक विद्यालयमा बिदा दिइएको हो । रौतहटका १८ स्थानीय तह मध्ये ११ स्थानीय तहले तीन दिन विद्यालयमा बिदा दिएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंहले जाडो बढेपछि सामुदायिक विद्यालय बन्द गरिएको बताए ।


Published :२१ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media