काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ अर्थात् १४ प्रतिशत घटाएका हुन् । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकोमा समीक्षामार्फत पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् ।
बजेट खर्चमा चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड खर्च हुने सुरुको अनुमान रहेकोमा पौडेलले संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन् । सुरुको बजेटको तुलनामा यो रकम ८६.३ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड खर्च गर्ने सुरुको बजेट अनुमान रहेकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने अनुमान गरिएको छ ।
वित्तीय व्यवस्थापनतर्फ सुरुमा २ खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन गरेकोमा संशोधनमार्फत २ खर्ब १४ अर्ब २१ करोड हुने अनुमान गरिएको छ । राजस्वतर्फ कुल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ । त्यस्तै वैदिशक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने संशोधित अनुमान छ ।