काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा.चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ।
श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो । उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ ।
क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन् ।
बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो ।
आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ । भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नेता भण्डारीको २५-३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ ।