काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित रातमाटे डाँडामा काठमाडौँकै सबैभन्दा ठुलो शिवको मुर्ति निर्माण हुने भएको छ । करिव २ करोड लागतमा निर्माण हुने सो शिव मुर्ति ५० फिट अग्लो र ३५ फिट फराकिलो हुने बताइएको छ।
यसैबीच महाशिवरात्रिको अवसर पारेर नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं १३ का वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ लगायतका अन्य वडाका वडाध्यक्ष र स्थानीय सहितको टोलीले मुर्ति निर्माण गर्ने भनिएको ठाउँमा स्थलगत अवलोकन गरेका छन् ।
आन्तरिक तथा वाह्य पर्यटक नगरमा भित्र्याउन जिल्लाको ठुलो शिव मुर्ति निर्माण गर्ने तयारी गरेको नगर प्रमुख अधिकारीले बताए । उनले नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटकीय नगर बूढानीलकण्ठ बनाउन लागि परेको बताए ।
वडा नम्बर १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले अग्लो र सुन्दर स्थानमा जिल्लाकै ठुलो मुर्ति निर्माण गर्दा आन्तरिक पर्यटन प्रबर्द्वनमा टेवा पुग्ने बताएका छन् ।
मुर्ति निर्माणका लागि २ करोड लागतको अनुमान गरिएको छ । मुर्ति निर्माण गर्न स्थानीय, प्रदेश तथा संघिय सरकारबाट र विभिन्न समाजसेवी बाट आवश्यक रकम संकलन गर्ने तयारी रहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।