
बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले ‘बूढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेला’ आयोजना गर्ने भएको छ। उक्त मेलामा स्टल राख्नका लागि आवेदन दिने सम्बन्धी नगरपालिकाले सूचना समेत प्रकाशन गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न लघु उद्यम, घरेलु तथा साना उद्यम एवं गृह श्रमिकहरु मार्फत् उत्पादन भए गरेका वस्तु तथा सेवाहरूको पहिचान, प्रवर्द्धन तथा प्रसार गरी व्यवसायिक स्तरोन्नतिका लागि बिक्री एवं बजारीकरण, स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरी आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुऱ्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम २०७९ चैत्र ३ र चैत्र ४ गते संचालन हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र स्थानीय श्रम र सीपको उपयोग गरी भएका उत्पादनहरु (मौलिक, सांस्कृतिक, पौराणिक समेत) र कृषि तथा पशुजन्य उत्पादन (माछामासु बाहेक) को बृहत बिक्री तथा प्रदर्शनी मेलामा नगरपालिका भित्रका त्यस्ता उत्पादनका क्षेत्रमा निरन्तर संलग्न व्यक्ति, उद्यमी, संघसंस्था वा समूह जो कोहीले पनि यस सम्मेलनमा भाग लिन पाउने नगरपालिकाको सुचनामा उल्लेख छ।
भाग लिनका लागि नगरपालिका द्वारा तोकिएको नियम तथा शर्तहरुको अधीनमा रही संलग्न ढाँचाको आवेदन फाराम भरी नगरपालिका उद्योग तथा पर्यटन विकास शाखामा २०७९ फागुन ३० गतेभित्र बुझाई स्टल बुकिङ गर्न सकिने उद्यम सहजकर्ता जनार्दन मिश्रले जानकारी दिएका छन् ।
कार्यक्रममा बिक्री तथा प्रदर्शनीमा राख्न पाइने सामग्रीहरुको विवरणः
– बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी, अस्थायी बसोबास गरी विभिन्न घरेलु तथा लघु उद्यम मार्फत् वा गृह श्रमिकको रुपमा उत्पादन गरेका विभिन्न घरेलु तथा स्थानीय श्रम, सीप प्रयोग गरी उत्पादन गरेका वस्तु तथा सेवाहरु।
– बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरी विभिन्न मौलिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, दुर्लभ उत्पादनको वस्तु तथा सेवाहरु।
– बूढानीलकण्ठ नगरपालिकाभित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरू।

